विशेष अनलाइन । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर बिहीबारदेखि अभिनेता प्रदीप खड्का स्टारर चलचित्र ‘एक्लो’ देशव्यापी रूपमा प्रदर्शनमा आएको छ। बहुप्रतिक्षित मानिएको यस साइन्स-फिक्सन चलचित्रले देशभरका हलहरूमा औषत शो प्राप्त गरेको छ।
बुधबार बेलुकासम्म प्रकाशित हलहरूको समयतालिका अनुसार यस चलचित्रले देशभर कुल १२४ शो पाएको छ। प्रदीप खड्का जस्ता ठूला स्टार अभिनित चलचित्रका लागि यो अपेक्षाभन्दा केही न्यून शो संख्या हो। १४० मिनेट रनटाइम रहेको यस चलचित्रलाई प्रदीप शाहीले निर्देशन गरेका हुन्। हाल बक्स अफिसमा ‘धुरन्धर’, ‘झरीपछिको इन्द्रेणी’ र ‘परान’ जस्ता चलचित्रले सुखद व्यापार गरिरहेका कारण पनि शो संख्यामा बाँडफाँडको असर देखिएको हो।
नेपालको पहिलो साइन्स-फिक्सन चलचित्र ‘बिजुली मेसिन’ रिलिज भएको ९ वर्षपछि सोही जनरालाई पछ्याउँदै ‘एक्लो’ आएको हो। सन् २०१६ मा नवीन अवलको निर्देशनमा बनेको ‘बिजुली मेसिन’ पछि नेपाली चलचित्र क्षेत्रमा विज्ञान कथामा आधारित चलचित्रको अभाव देखिएको थियो। लामो समयको पर्खाइपछि आएको यो चलचित्रले दर्शकको कस्तो साथ पाउँछ भन्ने कुरा अबको ‘वर्ड अफ माउथ’ मा निर्भर रहने देखिन्छ।
यसै बिहीबारदेखि नेपाली पर्दामा दुईवटा विदेशी चलचित्र पनि थपिएका छन्। सिड्नी स्विनी स्टारर हलिउड चलचित्र ‘द हाउसमेड’ ले देशभर ३६ शो पाएको छ। एक धनाढ्य जोडीको सुसारे बनेकी युवतीको कथावस्तुमा आधारित यो थ्रिलर चलचित्र १२६ मिनेट लामो छ।
त्यस्तै, दक्षिण भारतीय एक्सन चलचित्र ‘४५’ ले भने देशव्यापी रूपमा ८७ शो प्राप्त गरेको छ। कन्नड सुपरस्टार शिव राजकुमार अभिनित यो चलचित्रले पनि नयाँ वर्षको अवसरमा दर्शक तान्ने अपेक्षा गरिएको छ। एकातिर सफल पुराना स्वदेशी चलचित्र र अर्कोतिर नयाँ विदेशी चलचित्रको भिडन्तका बीच प्रदीप खड्काको ‘एक्लो’ ले कस्तो कलेक्सन गर्ने हो, त्यो भने हेर्न बाँकी छ।









Discussion about this post