विशेष अनलाइन । नेपाली हास्य तथा चलचित्र क्षेत्रका चर्चित अनुहारहरू हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल, सागर लम्साल, दीपाश्री निरौला, र रजनी गुरुङ लाई मुख्य भूमिकामा लिएर नयाँ सामाजिक चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ। मंगलबार राजधानीको कमलादी गणेशस्थानमा चलचित्रको औपचारिक शुभमुहूर्त पूजा गर्दै निर्माण घोषणा गरिएको हो। यो चलचित्रले एकसाथ हास्य क्षेत्रका यी ‘स्टार’ हरूलाई ठूलो पर्दामा उतार्ने निश्चित भएको छ।
चलचित्रमा अभिनेता दीपकराज गिरी पनि जोडिने भन्ने चर्चाले केही समयअघि मिडियामा स्थान पाएको थियो। उनले आफू यस चलचित्रमा देखिन सक्ने सङ्केत पनि दिएका थिए। तर, शुभसाइत पूजापछि मिडियालाई पठाइएको आधिकारिक विवरणमा भने अभिनेता गिरीको नाम उल्लेख छैन। यसै गरी, चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ भए पनि निर्देशक वसन्त निरौला ले यो कुनै धार्मिक कथामा आधारित नभई विशुद्ध सामाजिक कथावस्तु मा केन्द्रित रहेको स्पष्ट पारेका छन्।
यो चलचित्र काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको हो। अनुभवी निर्देशक वसन्त निरौला ले यसको निर्देशनको जिम्मा लिएका छन्, जसले यसअघि ‘ज्वाइँ साब’, ‘मेला’, ‘समर्पण’, ‘आवेग’, ‘राजनीति’ र ‘विजयपथ’ जस्ता चलचित्रहरू निर्देशन गरिसकेका छन्। चलचित्रको आकर्षक पटकथा र संवाद सुशील पौडेल ले लेखेका छन्। नवीन श्रेष्ठ प्रस्तुतकर्ता र कालीरानी श्रेष्ठ निर्माता रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा दिलीप पन्त छन्।
निर्माता कालीरानी श्रेष्ठ ले कलाकारहरूको बलियो ‘लाइनअप’ ले गर्दा चलचित्र सफल हुनेमा आफू ढुक्क रहेको बताउँदै, दर्शकले मन पराउने स्तरीय चलचित्र बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। प्रस्तुतकर्ता नवीन श्रेष्ठ ले यसअघि ‘लाज शरणम’ जस्ता चलचित्र निर्माण गरेका थिए। निर्माण टिमले जनाएअनुसार चलचित्रको बाँकी कलाकार छनोटको काम जारी छ भने चलचित्र केही महिनाभित्रै छायांकनमा जाने तयारी गरिएको छ।









Discussion about this post