विशेष अनलाइन । चलचित्र ‘नाम्लो’ बाट अभिनेता पूर्ण लिम्बूले अन्तर्राष्ट्रिय फेस्टिभलमा उत्कृष्टताको पहिचान पाएका छन् । स्कटल्याण्डको राजधानी एडिन्बरामा नेपाल स्कटल्याण्ड एसोसिएसनले आयोजना गरेको ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल–२०२५’ मा लिम्बूलाई उत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरिएको हो ।
सामाजिक उत्तरदायित्व बोकेको चलचित्र नाम्लो को प्रस्तुति र अभिनयलाई निर्णायक मण्डलले उच्च मूल्याङ्कन गरेको थियो । लिम्बू आफैं यस चलचित्रका प्रस्तुतकर्ता समेत हुन् । उनले सङ्खुवासभाको खाम्लिङ गाउँमा खानेपानी र पूर्वाधार विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित यो चलचित्र निर्माण गरेका हुन् ।
पूर्ण लिम्बूले प्राप्त सम्मानलाई आफूभित्र अझ राम्रो काम गर्ने प्रेरणाको रूपमा लिएको बताए । ‘यो अवार्डले थप जिम्मेवारी र हौसला दिएको छ,’ उनले संक्षिप्त प्रतिक्रिया दिए ।
चलचित्र नाम्लो को निर्देशन हेमन तामाङले गरेका हुन् । चलचित्रलाई धरान, इटहरी हुँदै सङ्खुवासभाको नुनढाकी, पोखरी, चैनपुर, खाम्लिङ लगायतका स्थानहरूमा विशेष सो गरिसकिएको छ । चलचित्रको जुलाई २७ मा लण्डनको आस्फोर्डमा पहिलो अन्तर्राष्ट्रिय विशेष शो आयोजना गरिनेछ ।
फेस्टिभलमा बेलायतस्थित नेपाली समुदायको उल्लेख्य सहभागिता थियो । नेपाली राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्य तथा एडिन्बराका सांसद फेजल चौधरीको विशेष आतिथ्यमा महोत्सव भव्य रूपमा सम्पन्न भएको थियो ।
यस कार्यक्रममा निर्णायकका रूपमा नेपालबाट निर्देशक दीपेन्द्र लामा, सगीता श्रेष्ठ, बलिउडका एक्जुकेटिभ प्रोड्युसर राजेन्द्र घिमिरे, निर्माता ज्योति राज राई, निर्देशक प्रितम गुरुङ तथा क्यानडाबाट अभिनेता राजकुमार राई सहभागी थिए । त्यस्तै बेलायतस्थित फिल्मकर्मी मनिष श्रेष्ठ, बिनोद चिपालु, सनम कुमार बैराग, शशी थापा सुब्बा, सिर्जना सुब्बा लगायत म्याराथुन धावक सन्तोष राई पनि उपस्थित थिए ।
‘नाम्लो’ अब एउटा चलचित्र मात्र होइन, नेपाली समाजको कथा बोकेको अन्तर्राष्ट्रिय सन्देश बनेको छ ।










Discussion about this post