विशेष अनलाइन । नेपाली चलचित्र ‘माग्ने राजा’सँगै कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि एकपटक चर्चामा छन्। केही साता अगाडि चलचित्रको पोस्टर सार्वजनिक कार्यक्रममा निर्माता मुनाल घिमिरेले केदारलाई ६१ लाख रुपैयाँ पारिश्रमिक दिएको दाबी गरेपछि उनी ‘नेपालका सबैभन्दा महँगा कलाकार’ को रूपमा मिडियामा भाइरल बने।
तर, आइतबार एक कार्यक्रममा बोल्दै केदारले उक्त दाबी वास्तविक नभई प्रचारका लागि गरिएको ‘फण्डा’ मात्रै भएको खुलासा गरेका छन्। उनले भने, “६१ लाख भन्ने कुरा निर्माताले प्रचारका लागि बनाएको हो। यस्तो गरेपछि चलचित्रले राम्रो हाइप लिन्छ भन्ने सोच उहाँको थियो। म त पारिश्रमिकभन्दा पनि अभिनय महत्वपूर्ण हो भन्ने मान्छे हुँ।”
पोस्टर सार्वजनिक कार्यक्रममा उनले उक्त दाबीको खण्डन नगर्नुको कारण टिजरलाई देखाएका छन्। “टिजरभित्र पैसा देखाइएको थियो। टिजर नआउन्जेल म केही भन्न मिल्दैनथ्यो,” केदारले स्पष्ट पारे। निर्माताले पारिश्रमिकको कुरा उठाएको दिनमै आफूले प्रश्न उठाएको उनले बताए। “किन यस्तो हल्ला गर्नुभयो भनेर सोध्दा, उहाँले टिजरमै छ त पैसा, त्यही अनुसार मिलाउँछु भन्नुभयो,” उनले भने।
केदारले कर (ट्याक्स) का कारण पनि तत्काल खण्डन नगरेको उल्लेख गरे। उनले भने, “ट्याक्स त म घरको ल्याएर तिर्ने होइन। निर्माताबाट पैसा आएपछि कानुनीरूपमा कर तिर्छु। तर यस्तो अनावश्यक फण्डाले व्यक्तिगत रूपमा असर गर्छ।”
चलचित्र प्रचारका नाममा अतिशयोक्तिपूर्ण दाबी गर्नुपर्ने प्रवृत्तिप्रति उनले असहमति जनाए। “टिमसँग यस विषयमा मतभिन्नता छ। प्रचार गर्ने नाममा अनर्गल कुरा गर्नु ठिक लाग्दैन। किनभने हामी एउटा मात्रै चलचित्र खेलेर हराउने मान्छे होइनौं, सधैं यसै क्षेत्रमा टिक्नुपर्छ,” केदारको भनाइ छ।
Discussion about this post