विशेष अनलाइन । चलचित्र मिरमिरेको छायाङ्कन शनिबारबाट सुरु भएको छ । पनौती नगरपालिका–११, बल्थली स्थित श्री लड्केश्वर आधारभूत विद्यालयको परिसरमा क्यामेरा पूजा गरी छायाङ्कन आरम्भ गरिएको हो ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु ,माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा तथा बाल कलाकार साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल रहेका छन् ।
यो चलचित्रमा गायक प्रकाश सपूत र अभिनेता दयाहाङ राई पहिलो पटक एकैसाथ देखिँदैछन् । यद्यपि निर्देशक यम शेर्पा र दयाहाङको भने यो दोस्रो सहकार्य हो । यसअघि यमको निर्देशनमा बनेको कार्साङ मा पनि दयाहाङले अभिनय गरेका थिए ।
चलचित्रका निर्देशक यम शेर्पाका अनुसार, “हामी करिब ३५ दिनसम्म चलचित्र छायाङ्कन गर्नेछौं । अधिकांश दृश्य काभ्रेका विभिन्न स्थानमा खिचिनेछ ।”
चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् भने सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । कार्यकारी निर्माता रोहित कट्टेल रहेका छन् । चलचित्र मिरमिरे २०८२ मा रिलिज हुने छ । तर प्रदर्शन मिति भने हाल तय भएको छैन । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ ।
Discussion about this post