विशेष अनलाइन । नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पहिलो गीत ‘आमा’ सार्वजनिक भएको छ । भावनात्मक सम्वाद बोकेको यस गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र स्वर रहेको छ भने गायिका मनिषा सुनारले समेत स्वर दिएकी छन् । गीतले आमा र छोराबीचको सम्बन्ध, छोराको संघर्ष र आमाप्रतिको समर्पणलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
गीतमा चलचित्रका मुख्य पात्र काठमाडौं आउँदाको पीडा र संघर्ष प्रस्तुत गरिएको छ । आमालाई सुख दिन सहर पसेको छोराले भोगेका हन्डर, कठिनाइ र निराशा गीतमा अभिव्यक्त गरिएको छ । काठमाडौं सपनाको सहरजस्तो लागे पनि वास्तविकतामा त्यस्तो नभएको र मान्छे तथा घरहरू पनि भावनाहीन हुँदै गएको यथार्थ चित्रण गरिएको छ ।
गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली र कविता आलेको अभिनय हेर्न सकिन्छ । निर्देशक हिमाल न्यौपानेले चलचित्र आमाछोराबीचको सम्वेदनशील कथा भएको बताएका छन् । असोसियट निर्देशक मनिष राउतका अनुसार गीत सहर पसेका छोराछोरी र आफ्नो बाचाको सफलताको पर्खाइमा बसेका आमाहरूलाई समर्पित छ ।
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, शुशांक मैनाली, कविता आले, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सृष्टि खड्डी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् भने निर्देशन हिमाल न्यौपानेले गरेका छन् । सहायक निर्देशकहरूमा दिनेश बहादुर राउत, तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी. रहेका छन् ।
नवीन गुरुङले छायांकन गरेका चलचित्रमा कृष्ण परियार सिनेमेटोग्राफर छन् । संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको योगदान रहेको छ ।
चलचित्र भदौ ६ गते देशभर प्रदर्शनमा आउनेछ । पेपरक्लिप ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । गोविन्द शाहीको काफिया फिल्मसले चलचित्र वितरण गर्नेछ ।
Discussion about this post