विशेष अनलाइन । एक समय सम्पूर्ण नेपाली हृदयमा धडकन बनिदिएको कालजयी गीत “यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर” फेरि एकपटक नयाँ आत्मा लिएर पर्दामा आउँदैछ। समयसँगै भावनाहरू ओइलाउँदैनन् भन्ने कुराको सजीव उदाहरण बनेको यस गीतले, अहिले निर्माणाधीन चलचित्र ‘माईतीघर’ मा पुनः सजीवता पाइरहेको छ।
हिन्दू धर्मावलम्बीहरूको आस्थाको गढ, बागलुङको कालिका मन्दिरको पवित्र आँगनमा सुरु भएको छायांकनले गीतलाई सांस्कृतिक र आध्यात्मिक आयाम थप्ने प्रयत्न गरेको छ। सुप्रसिद्ध भारतीय गायिका संजीवनीले आफ्ना सुमधुर स्वरले यो भावनात्मक धुनलाई पुनर्जन्म दिएकी छन्।
गीतको दृश्यहरूलाई जीवन्त पार्नका निम्ति निर्माताले मात्र गीतकै लागि चार दिन लामो विशेष सेड्युलको व्यवस्था गरेका छन्। निर्माता रोहित अधिकारीका अनुसार, “गीतको आत्मा नओइलाओस्, भावनाको रंग नफीकोस् भन्ने हेतुले हामीले कुनै कसर बाँकी राखेका छैनौँ।”
छायांकनको पहिलो दिन सार्वजनिक गरिएका केही झलकहरूले दर्शकहरूमा उत्सुकता भरिएको छ। परम्परागत नेपाली भेषभूषामा सजिएर नृत्य गरिरहेकी अभिनेत्री उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा, कोरस नर्तकासँगै दृश्यमा भावनात्मक रंग भरिरहेका छन्। गीतको नृत्य संयोजन सुप्रसिद्ध कोरियोग्राफर कमल राईले गरिरहेका छन्, जसले गीतलाई गतिशील मात्र होइन, संस्कृतिकात्मक शुद्धता पनि दिएको छ।
गीतमा किरण खरेलका शब्दले भावना बोकेको छ भने जयदेवको संगीतले ती भावनालाई आत्मासँग गाँसिदिएको छ। चलचित्र ‘माईतीघर’ मा अभिनेता धीरज मगर, माग्ने बुढाको नामले घरघरमा चिनिएका केदारप्रसाद घिमिरे, बहुआयामिक कलाकार प्रकाश सपुत, बुद्धि तामाङ, शिशिर बाङ्देल, उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा लगायतका लोकप्रिय अनुहारहरू देख्न पाइनेछन्।
मिलन तामाङको कुशल निर्देशन र सुसन प्रजापतिको सिनेम्याटोग्राफीको साथ, रोहित अधिकारी फिल्म्सको प्रस्तुति रहेको यो चलचित्रले नाताको, मायाको र सम्झनाको जरा खोज्ने प्रयास गर्दैछ। निर्माणमा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको सहकार्य रहेको यस फिल्मले नेपाली सिनेमामा एउटा स्मरणीय अध्याय थप्ने अपेक्षा गरिएको छ।
कुनै समय आमाको काख सम्झाउने गीत, अब फेरि पर्दामा आउँदैछ— नयाँ स्वाद, तर उही आत्मासहित।
Discussion about this post