विशेष अनलाइन । भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार गएको राति उनको निधन भएको हो। तर हालसम्म निधनको कारण खुलाइएको छैन।
मुकुल देवले सन् १९९६ मा चलचित्र ‘दस्तक’ मार्फत बलिउडमा डेब्यु गरेका थिए। यो चलचित्रबाट सुष्मिता सेनले पनि आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्। त्यसपछि उनले ‘सन अफ सरदार’, ‘आर… राजकुमार’, ‘जय हो’, ‘हिम्मतवाला’, ‘इत्तेफाक’ लगायत थुप्रै सफल चलचित्रहरूमा अभिनय गरे।
चलचित्रसँगै मुकुल देवले टेलिभिजन र वेब सिरिजहरूमा पनि सक्रियता देखाएका थिए। उनले ‘फियर फ्याक्टर इन्डिया’, ‘२१ सरफरोश – सरागढी १८९७’ र ‘स्टेट अफ सिज: २६/११’ जस्ता कार्यक्रमहरूमा दमदार अभिनय प्रस्तुत गरेका थिए। साथै उनले हिन्दीबाहेक पञ्जाबी, बंगाली र तेलुगु चलचित्रहरूमा पनि काम गरेका थिए।
मुकुल देव अभिनेता राहुल देवका भाइ हुन्। उनको निधनको खबर सार्वजनिक भएपछि धेरै कलाकारहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्।
अभिनेता मनोज बाजपेयीले लेखेका छन्, “उनको कलाप्रतिको समर्पण अतुलनीय थियो।” सोनु सूदले भनेका छन्, “मुकुल भाइ, तपाईं एक अनमोल व्यक्ति हुनुहुन्थ्यो। तपाईंलाई सधैं सम्झिरहनेछु।” नील नितिन मुकेशले पनि गहिरो दुःख व्यक्त गर्दै राहुल देव र सम्पूर्ण परिवारप्रति समवेदना प्रकट गरेका छन्।
उनको निधनले भारतीय चलचित्र क्षेत्रमा एक बहुप्रतिभाशाली कलाकारको अपूरणीय क्षति भएको महसुस गरिएको छ। उनको आत्माको शान्तिको कामना गरिन्छ।
Discussion about this post