विशेष अनलाइन । नेपाली चलचित्र क्षेत्रकी एक समयकी चर्चित अभिनेत्री विपना थापा फेरि एक पटक पर्दामा फर्किन लागेकी छन्। अघिल्लो वर्ष प्रदर्शनमा आएको चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत १६ वर्षपछि अभिनयमा कमब्याक गरेकी विपना अब नयाँ चलचित्र ‘आ बाट आमा’ मा मुख्य भूमिकामा देखिने भएकी छन्।
चलचित्रका निर्देशक चन्द्र पन्तले केही दिनअघि मात्र विपनालाई अनुबन्ध गरेका हुन्। निर्देशकका अनुसार चलचित्रको कथा नै विपनाको वरिपरि केन्द्रित हुनेछ। उनले भनिरहेका छन्, “चलचित्रमा उहाँको पात्र निकै इमोशनल छ। म दाबीका साथ भन्न सक्छु, यति मार्मिक कथा नेपाली चलचित्रमा कमै बनेका छन्।”
विपना स्वयं पनि चलचित्रको कथा सुनेर अत्यन्त भावुक बनेकी छन्। उनले भनिन्, “कथा सुन्दा नै मेरो घाँटी अबरुद्ध भयो, आँखा रसाए। गीतहरू त झन हृदय छुने खालका छन्। ‘ह्रस्व दीर्घ’का गीत जति मार्मिक थिए, यो चलचित्रका गीत अझ गहिरा छन्।”
‘ह्रस्व दीर्घ’मा मेयरको भूमिकामा देखिएकी विपना ‘आ बाट आमा’मा एक आमाको भूमिकामा प्रस्तुत हुँदैछिन्। चलचित्रले आमा र सन्तानबीचको सम्बन्धलाई केन्द्रमा राखेर कथा बुनेको छ। चलचित्रको स्क्रिप्ट अभिमन्यू निरवीले लेखिरहेका छन्। केही दिनअघि चलचित्रको थिम पोष्टर सार्वजनिक गर्दै आधिकारिक घोषणा गरिएको थियो। निर्माण पक्षले आउँदो भदौबाट छायांकन सुरु गर्ने र फागुन १५ गते प्रदर्शनमा ल्याउने योजना बनाएको छ।
Discussion about this post