विशेष अनलाइन। नेपाली चलचित्र ‘महाराजधिराज’ले छायांकन सुरु गर्न अब गन्ने दिन मात्रै बाँकी छ। यही बेला चलचित्र मा एकपछि अर्को गर्दै चर्चित कलाकारहरू जोडिँदै छन्। अहिले आएर अभिनेता पुष्प खड्का पनि चलचित्रमा अनुबन्ध भएका छन्। आइतबार निर्माता टिमसँग उनले आधिकारिक रूपमा सम्झौता गरेका हुन्।
यसअघि नै चलचित्र मा रमेश उप्रेती, आर्यन सिग्देल, पल शाह, वर्षा राउत, वर्षा सिवाकोटी र जय किशन बस्नेत जस्ता लोकप्रिय अनुहारहरू जोडिइसकेका छन्। अब पुष्प खड्काको आगमनले चलचित्रको कलाकार टोलीलाई अझ बलियो बनाएको छ।
चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्दै छन्। यो चलचित्रको कथा पनि उनैले लेखेका हुन्। उनले निर्देशन गरेको अघिल्लो चलचित्र ‘प्रेमगञ्ज’ले आलोचकबाट प्रशंसा बटुलेको थियो, जसले दर्शकमाझ उनको पहिचान झनै प्रस्ट बनाएको छ।
‘महाराजधिराज’ छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुँदैछ। प्रस्तुतकर्ता विराज बिष्ट हुन्, जसले यसअघि चर्चित चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए। साथै टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का यस चलचित्रका निर्माता हुन्।
चलचित्र फूलपातीको अवसरमा देशभर प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ। कलाकारहरूको दमदार टोली र अनुभवी टिमको संयोजनले गर्दा दर्शकमाझ यसप्रति उच्च आशा गरिएको छ।
Discussion about this post