विशेष अनलाइन । दशैँको फूलपातीको अवसरमा दर्शकमाझ आउने तयारीमा रहेको चलचित्र ‘माईतीघर’ को निर्माण धमाधम भइरहेको छ। निर्माता रोहित अधिकारीले गुणस्तरीय निर्माणमा कुनै सम्झौता नगर्ने अडान राख्दै १५ दिनमै ४५ प्रतिशत छायांकन पूरा भएको जानकारी दिएका छन्।
‘अनावश्यक तामझाम होइन, उत्कृष्ट कथा, पटकथा, संवाद, गीत र मेकिङमै हाम्रो सम्पूर्ण ध्यान केन्द्रित छ,’ अधिकारीले भने। यस पटक चलचित्र प्रचारसँगै निर्माणमा बढी ध्यान दिइएको छ।
चलचित्रमा प्रमुख कलाकारको रूपमा धीरज मगर, केदार घिमिरे ‘माग्नेबुढा’, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, बुद्धि तामाङ लगायत देखिने छन्। माग्नेबुढाको क्यारेक्टर लुक्स सार्वजनिक भएसँगै चलचित्रप्रतिको उत्सुकता बढेको छ।
म्याग्दीको ताकममा चलिरहेको छायांकनपछि निर्माताले फूलपातीको मिति परिवर्तन नगर्ने स्पष्ट पारेका छन्। ‘एक हलमा एक शो मात्र पाए पनि, हामी फूलपातीमै माईतीघर ल्याउँछौँ,’ रोहित अधिकारीले दृढता देखाए। यस पटकको दशैँमा ‘जारी २’, ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’, ‘महाराजधिराज’ जस्ता चलचित्रसँग प्रतिस्पर्धा गर्न माईतीघर तयार छ।
सदाबहार गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर’ लाई पुनः रेकर्ड गरेर चलचित्रमा समेटिएको छ। यसपटक भारतीय चर्चित गायिका सन्जिबनिको स्वरमा यो गीतले पुनः नयाँ जीवन पाएको छ।
चलचित्रको निर्देशन मिलन तामाङले गरेका हुन् भने लेखन चन्द्रकुमार दोङको रहेको छ। सुशन प्रजापतिको छायाङ्कन र रामशरण पाठकको संवादले कथालाई सशक्त बनाउने विश्वास लिइएको छ। कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ र सह-निर्माता रविन शेरचन र धिरज तामाङ छन्।
रोहित अधिकारी फिल्म्सको चौथो प्रस्तुति ‘माईतीघर’ ले यस पटक गुणस्तरको नयाँ परिभाषा स्थापित गर्ने लक्ष्य राखेको छ।
Discussion about this post