विशेष अनलाइन। नेपाली फिल्म ‘अन्जिला’ले प्रदर्शनको ५१ दिन पार गरेको अवसरमा विशेष समारोहको आयोजना गर्दै आफ्नो सफल यात्रा मनाएको छ। निर्देशक मिलन चाम्सको निर्देशनमा बनेको यस चलचित्रले लगातार ५१ दिनसम्म दर्शकहरूको साथ पाएकोमा निर्माण पक्षले खुशी साटेको हो।
शुक्रबार काठमाडौंमा आयोजित भव्य कार्यक्रममा फिल्म टिमले हाल नेपाली चलचित्र क्षेत्रमै चर्चामा रहेका ज्योतिष नवराज भट्ट (भट्ट गुरु) लाई विशेष सम्मान प्रदान गरेको छ। ‘अन्जिला’ निर्माणको सुरुवाती चरणदेखि नै शुभ साइत निर्धारणदेखि लिएर छायांकन र प्रिमियरको समयसम्म ज्योतिषीय मार्गदर्शन दिएका भट्ट गुरुको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि शसस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, निर्माता छबीराज ओझा, निर्देशक ज्ञानेन्द्र देउजा, निर्माता विनोद अग्रवाललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। उनीहरूले संयुक्त रूपमा भट्ट गुरुलाई सम्मानपत्र प्रदान गर्दै कृतज्ञता व्यक्त गरे।
भट्ट गुरु पछिल्लो समय नेपाली फिल्म उद्योगमा ‘एस्ट्रोलोजिकल कन्सल्टेन्ट’को रूपमा स्थापित हुँदै गइरहेका छन्। ‘अन्जिला’मा पनि उनले कथा अनुसार ग्रह नक्षत्र मिलाउनदेखि शुभ समयको छनोटसम्म परामर्श दिएका थिए, जसको सकारात्मक प्रभाव फिल्ममा देखिएको निर्माण पक्षको विश्वास छ।
फिल्म ‘अन्जिला’ राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बाम्पो सुब्बाको जीवन कथामा आधारित छ। प्रेरणादायी विषयवस्तु, कुशल निर्देशन र कलाकारहरूको दमदार अभिनयले गर्दा फिल्मले समीक्षक र दर्शक दुवैबाट प्रशंसा बटुल्न सफल भएको छ।
हाल पनि केही सिनेमा घरमा प्रदर्शन भइरहेको ‘अन्जिला’ नेपाली चलचित्रको क्षेत्रमा सकारात्मक ऊर्जा र प्रेरणा बोकेको फिल्मको रूपमा स्थापित हुँदै गएको छ।









Discussion about this post