विशेष अनलाइन । कहिल्यै नरोकिने लाइट, कहिले नरुचाइने माइक, कहिले त अपुरो निद्राका बिच पनि रोलिङ–एक्सन भन्ने आवाज गुन्जिरह्यो। अन्ततः २५ दिन र रातको निरन्तर खटाइपछि नेपाली फिल्म ‘अभिमन्यु’ को छायांकन समाप्त भएको छ। निर्माता विनोद पौडेलको अनुसार, हिजो बिहीबार राति अन्तिम दृश्य खिचिएसँगै फिल्म इण्डक्ल्याप भयो। अब भदौ २७ गतेदेखि ‘अभिमन्यु’ले ठूलो पर्दामा आफ्नो कथा भन्न पाउनेछ।
फिल्ममा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल र किरण श्रेष्ठजस्ता नामी कलाकारहरूले प्राण भरेका छन्। निर्देशक सुशान्त गौतमको यो पहिलो प्रयोग हो, जुन प्रयोगको सफलताको कथा अब दर्शकहरूले लेख्नेछन्।
‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो कालजयी ब्लकबस्टर दिएका निर्माता पौडेलको नयाँ प्रस्तुति हो अभिमन्यु, जुन सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको हो। उनी भन्छन्, “युनिटको आपसी समन्वय र आत्मीयता नै छायांकन यति छिटो सम्पन्न हुनुको मुख्य कारण हो।”
कथा छ पैसाको मोहमा फसेको एक पात्रको – जो चक्रव्यूहबाट बाहिर निस्कन खोज्दैछ। पहिल्यै सार्वजनिक भएको थिम पोस्टरले नै यस सङ्घर्षको संकेत गरिसकेको छ – जहाँ पैसा, पावर र प्यास एकै फ्रेममा अड्किएका छन्।
फिल्मको कथा मुकेश खनालले लेखेका हुन् भने दृश्यमा रंग र रौनक भरेका छन् सिनेमाटोग्राफर शरद महतोले। क्रिएटिभ निर्देशनमा मदन थापा छन्, जसले अघिल्लो फिल्म ‘बाटो : रोड टु डेथ’ मा दर्शकको ध्यान खिचेका थिए। निर्माता पौडेलसँगै गुञ्जन गिरी मुख्य निर्माण भूमिकामा छन् भने रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माताका रूपमा जोडिएका छन्।
रोचक कुरा के छ भने, ‘अभिमन्यु’ एकसाथ नेपाली र हिन्दी भाषामा विश्वव्यापी रूपमा रिलिज हुनेछ। अब पोस्ट-प्रोडक्सनको पाटो बाँकी छ र प्रचारप्रसारका अभियानहरू चाँडै सुरु हुँदैछन्।
सिनेमा त तयार भयो, अब दर्शकको मन छोएर हिट बन्न सक्नेछ त ‘अभिमन्यु’? यसको उत्तर भने समयले बताउने छ ।
Discussion about this post