विशेष अनलाइन । नेपाली चलचित्र ‘माइतीघर’ को छायाङ्कन बिहीबार म्याग्दी जिल्लाको ताकम गाउँबाट सुरु गरिएको छ। ऐतिहासिक गणेश मन्दिरमा पूजा गरी शुभसाइत गरेपछि चलचित्रको छायाङ्कन कार्य प्रारम्भ भएको हो।
निर्माता रोहित अधिकारीका अनुसार, पहिलो चरणमा ताकम र धारपानी गाउँमा २० दिन, त्यसपछि दरबाङको तातोपानी क्षेत्रमा २० दिन छायाङ्कन हुनेछ। अधिकारीले यो चलचित्रले गाउँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई पर्दामा उतार्ने प्रयास गर्ने बताएका छन्।
शुभारम्भ कार्यक्रममा धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन प्रमुख अतिथि थिए। उनले गाउँमै पहिलो पटक चलचित्र छायाङ्कन हुन थालेकोमा उत्साह व्यक्त गर्दै यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। वडा नं. ७ का अध्यक्ष अशोक खत्रीले नारिवल फोरेर छायाङ्कनको विधिवत सुरुवात गरेका थिए।
चलचित्र टोलीलाई परम्परागत बाजागाजासहित स्थानीय बासिन्दाले स्वागत गरेका थिए, जसले गाउँमा सांस्कृतिक चहलपहल थपेको छ।मिलन तामाङको निर्देशनमा बन्ने यस चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ र शिशिर वाङ्देलको अभिनय रहनेछ। छायाङ्कन सुसन प्रजापतिले गर्ने भएका छ्न् ।
रोहित अधिकारी चलचित्रको ब्यानर ‘रोहित अधिकारी फिल्म्स’ अन्तर्गत निर्माण भइरहेको यस चलचित्रमा रविन शेरचन र धीरज तामाङको समेत लगानी रहेको छ। कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल रहेका छन्।
दशैँको फूलपातीको अवसर पारेर चलचित्र रिलिज गर्ने घोषणा निर्माण पक्षले गरेको छ। निर्माता अधिकारीका अनुसार ‘गाजलु’, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’ जस्ता उनका अघिल्ला चलचित्रहरूले दर्शकको राम्रो साथ पाइसकेका छन्।
Discussion about this post