विशेष अनलाइन । के साँचो माया जात हेरेर हुन्छ?
शायद यो प्रश्नको उत्तर खोज्दै छ — ‘ऊनको स्वीटर’, विपिन कार्की र मिरुना मगरको सशक्त अभिनयले सुसज्जित मर्मस्पर्शी प्रेमकथा।
बैशाख २६ (मे ९) मा प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै नेपाली सिनेप्रेमीहरूमा फेरि एक पटक ‘भावुक प्रेम’ को स्पर्श आएको छ। झन्डै ४ मिनेटको ट्रेलरले जुन ‘सजिलो प्रेम तर गहिरो सन्देश’ बोकेको छ, चलचित्र समकालीन भड्किलो ट्रेन्डभन्दा एक कदम फरक छ भन्दा फरक पर्दैन ।
पाहुनो प्रेम र पाखाको पीडा
चलचित्रको मूल कथा पूर्वी नेपालका पहाडी भेगमा जीवन जिउँदै आएका दुई युवायुवतीबीचको प्रेम हो — एकजना गुरुङसेनी युवती, अर्का ब्राम्हण युवक। सामाजिक विभाजन र जातीय विभेदले उनीहरूको मायालाई जस्तो बाध्यतामा बाँध्न खोज्छ, त्यसले आज पनि गाउँका अनेक माया गुम्सिएर बाँचिरहेका छन् भन्ने सत्य देखाउँछ।
निर्देशक नवीन चौहानले लोकेशन, संवाद र आन्तरिक द्वन्द्वमार्फत ग्रामिण समाजको नमीठो यथार्थ चित्रण गरेका छन्। ट्रेलर हेर्दा लाग्छ — प्रेम सधैं गुलाबको फूल होइन, कहिलेकाहीँ त्यो ऊनको स्वीटर जस्तै बिस्तारै बुनिन्छ, काँडाले चिथोर्ने झैं समय र समाजले छेड्न खोज्छ।
गीत–संगीतले थप्यो आत्मा
जसरी लेखकले गीतको शव्दहरुलाई आफ्नोपन दिन सफल भएका छन् त्यसैगरी सुजन चापागाईं र झुमा लिम्बुको सुमधुर स्वरले चलचित्रका गीत संगीतलाई मिठास दिइदिएको छ। शब्द र धुनहरू त्यस्ता छन्, जसले दर्शकलाई हिजोका दिन सम्झाइदिन्छन् — जब माया चिठीमा हुन्थ्यो, मुस्कान आखाँले बोल्थ्यो।
‘ऊनको स्वीटर’को न्यानोपन
पछिल्लो समय सहरिया कथा र भड्किलो शैलीले भरिएका नेपाली चलचित्रबीच ‘ऊनको स्वीटर’ एउटा मीठो ‘ब्रेक’ हो। ९० को दशकमा प्रेम बुझेका र बाँचेका दर्शकहरूले यसमा आफूलाई प्रतिविम्बित गर्न सक्छन्। विल्सन विक्रम राई, सुनिल पोखरेल, प्रेम सुब्बा लगायतको उपस्थिति फिल्मलाई थप गहिरो बनाउने विश्वास ट्रेलरले दिलाएको छ।
Discussion about this post