विशेष अनलाइन। नेपाली चलचित्र क्षेत्रमा मोफसलमै बसेर निरन्तर योगदान दिइरहेका सातजना चलचित्रकर्मीहरूलाई नेपाल चलचित्र कलाकार संघ कोशी प्रदेशले सम्मान गरेको छ। नयाँ वर्ष २०८२ को अवसर पारेर आइतबार इटहरीमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुने चलचित्रकर्मीहरूमा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष तथा चर्चित निर्देशक अरुण कुमार प्रधान, थारु चलचित्रका महानायक तथा निर्देशक पर्शुराम चौधरी, निर्देशक लाखमान योन्जन, निर्देशक तथा कलाकार अशोक चेम्जोङ, निर्देशक तथा कलाकार सन्तोष सरकार, निर्देशक कलाकार होम नारायण राजबंशी, र बहुप्रतिभाशाली कलाकार डम्बर कुमार मेन्याङ्बो लिम्बु रहेका छन्।
संघका उपाध्यक्ष दिनेश कोइरालाका अनुसार, उनीहरूलाई मोफसलमै रहेर चलचित्रकला र संस्कृतिको प्रवर्द्धनमा खेलेको भूमिकालाई उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो।
कार्यक्रमको अध्यक्षता संघका कोशी प्रदेश अध्यक्ष पुष्प श्रेष्ठले गरेका थिए भने इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोख्रेल प्रमुख अतिथिको रूपमा सहभागी थिए।
प्रमुख अतिथि पोख्रेलले नेपाली चलचित्रप्रतिको आफ्नो लगाव झल्काउँदै यस क्षेत्रमा कुनै पनि आवश्यकतामा साथ दिन तयार रहेको बताउँदै स्थानीय सरकार सधैं चलचित्रकर्मीहरूका लागि सकारात्मक रहने प्रतिबद्धता जनाए।
अध्यक्ष श्रेष्ठले चलचित्रकर्मीहरूको स्वास्थ्य सुरक्षा र आपतकालीन अवस्थाका लागि संघले हाल २५ हजार रूपैयाँ सहयोग गर्दै आएको जानकारी दिँदै निकट भविष्यमा यो रकम ५० हजार पुर्याउने तयारी भइरहेको बताए। उनले स्थानीय सरकारसँग सहकार्य गर्दै चलचित्रकर्मीहरूको सीप, क्षमता र कलात्मक अभिव्यक्तिको विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने स्पष्ट पारे।
कार्यक्रममा आदिवासी चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष तथा निर्माता ज्योतीराज राई, वरिष्ठ नाट्यकर्मी विक्रम श्री, चर्चित संगीतकर्मी राजु केसी लगायत अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमले मोफसलका कलाकारहरूको योगदानलाई मूल्यांकन गर्दै राष्ट्रिय चलचित्र क्षेत्रलाई अझ समावेशी र समृद्ध बनाउन सकिने सम्भावनालाई उजागर गरेको सहभागीहरूको धारणा थियो।
Discussion about this post