विशेष अनलाइन। विराटनगर, सिटी सिनेमा हलमा प्रदर्शन भइरहेको चलचित्र “अञ्जीला” अहिले विशेष छुटका साथ देखाइँदैछ। चलचित्रका कार्यकारी निर्माता विनोद अग्रवालका अनुसार, विद्यार्थीलाई दिउँसो २ बजे र साँझ ६ बजेका शोहरूमा चलचित्र हेर्नको लागि विशेष टिकटको व्यवस्था मिलाइएको छ। विराटनगर अवस्थित सिटी सिनेमा हलमा १०० मै चलचित्र हेर्न मिल्ने सुविधा मिलाईएको हो । विद्यार्थीहरूले आफ्नो आइडी कार्ड देखाएर यस अवसरको फाइदा उठाउन सक्नेछन्।
विराटनगरका विद्यार्थीहरूले महँगो टिकटका कारण चलचित्र “अञ्जीला” हेर्न गाह्रो हुदा यस छुटको व्यवस्था एउटा ठूलो राहतको रूपमा आएको छ। यसका साथै, शिक्षकहरूका लागि पनि छुटको व्यवस्था गरिएको छ। यो छुट सिटी सिनेमा हलमा चलचित्र प्रदर्शन भइरहेको समयमा मात्र उपलब्ध हुनेछ।
चलचित्र “अञ्जीला” नेपालको महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलता भित्रिएको एक बायोपिक हो। एन्जिलाले यस चलचित्रमा आफ्नो प्रमुख भूमिका निभाएकी छिन्। अहिले उनी चलचित्रको प्रचारका लागि देशभर दौडधुप गर्दैछिन्। मिलन चाम्सले निर्देशन गरेको यो चलचित्र तेश्रो हप्तामा पनि नेपालभर हाउसफुलका साथ चलिरहेको छ।
चलचित्रमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको गीत “रात किन हुन्छ हजुर” अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ र यसले चलचित्रको लोकप्रियता अझ बढी बढाएको छ।
चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, र फागुन २९ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले दर्शकहरूको मन जित्दै अगाडि बढिरहेको छ।
Discussion about this post