विशेष अनलाइन । कर्णालीको मौलिक कथावस्तुमा निर्माण भएको फिल्म ‘लाज शरणम्’ ले छैटौं हप्तामा पनि दर्शक तान्न सफल भएको छ। नेपालभरका विभिन्न हलहरूमा अझै पनि राम्रो व्यापार गरिरहेको यो चलचित्रले सकारात्मक प्रतिक्रियासमेत पाइरहेको छ।
कुमार कट्टेल (जिग्री) को निर्देशनमा बनेको यस फिल्मले सामाजिक यथार्थतालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। विशेष गरी कर्णाली क्षेत्रको जीवनशैली, संस्कार, र संघर्षलाई कथामा समेटिएकाले दर्शकहरूले यसलाई आफ्नो जीवनसँग जोडेर अनुभव गरिरहेका छन्।
‘लाज शरणम्’ मा ग्रामीण भेगका नेपालीहरूले सामना गर्नुपर्ने सामाजिक समस्या, परम्परागत सोच, र आधुनिक परिवर्तनको प्रभावलाई प्रभावकारी रूपमा देखाइएको छ। चलचित्रको कथा, संवाद, र प्रस्तुति यति जीवन्त छ कि दर्शकहरू भावुक भएर हलबाट निस्किरहेका छन्।
चलचित्रको व्यापार पनि राम्रो रहेको वितरकहरू बताउँछन्। काठमाडौं, पोखरा, चितवन, नेपालगञ्ज, बुटवल, धनगढी लगायतका मुख्य हलहरूमा अझै शो पाइरहेको छ, भने माउथ पब्लिसिटीले गर्दा अझै दर्शक हलसम्म पुगिरहेका छन्।
चलचित्रमा प्रमुख भूमिकामा सीताराम कट्टेल, अर्जुन घिमिरे, विजय बराल, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्षण थापा, रेणु योगी लगायतको अभिनय छ । यो चलचित्र फागुन १४ गतेबाट प्रदर्शनमा आएको थियो ।
विशेष गरी महेश त्रिपाठीको अभिनयलाई दर्शकहरूले अत्यधिक प्रशंसा गरिरहेका छन्।
चलचित्रका गीत-संगीतले पनि राम्रो चर्चा कमाइरहेका छन्। चलचित्रमा समावेश २ गीत ‘हेर्दा हेर्दैमा’ र ‘च्यातिएको चोली फेरौला’ अहिले पनि नेपाली दर्शकको मुखमा झुन्डिएको देखिन्छ । हालसम्म पनि टिकटक र सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
Discussion about this post