विशेष अनलाइन ।चलचित्र ‘अभिमन्यु’ को शुभमुहूर्त आज कीर्तिपुरमा सम्पन्न भएको छ। निर्माण टिमले पूजा गर्दै शुभसाइत गरेपछि मुहूर्त सट लिइएको थियो, जससँगै सिनेमाको छायांकन औपचारिक रूपमा सुरु भएको छ। शुभमुहूर्त कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरू उपस्थित थिए।
यो चलचित्रमा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ लगायतका कलाकारहरू मुख्य भूमिकामा रहनेछन्। निर्माता विनोद पौडेलका अनुसार, कथाको मागअनुसार बलियो कलाकार टिम बनाइएको छ।
‘अभिमन्यु’ को कथाले पैसाको लोभमा फस्ने र त्यसबाट उम्किन संघर्ष गर्ने पात्रको यात्रा देखाउनेछ। सार्वजनिक गरिएको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई संकेत गरेको छ। चलचित्रमा समाजमा हुने लोभ, प्रलोभन र त्यसले पार्ने प्रभावको कथा प्रस्तुत गरिने बताइएको छ।
चलचित्रको निर्देशन सुशान्त गौतमले गर्दैछन्। ‘अभिमन्यु’ उनको पहिलो निर्देशन हो। चलचित्रको कथा मुकेश खनालले लेखेका छन् भने, क्रिएटिभ निर्देशक मदन थापा रहेका छन्, जो यसअघि ‘बाटो: रोड टु डेथ’ निर्देशन गरिसकेका छन्।
‘अभिमन्यु’ लाई सेभेन सिज सिनेमाले निर्माण गरेको हो। विनोद पौडेल र गुञ्जन गिरी निर्माता हुन् भने रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्। सिनेमाटोग्राफी (डिओपी) शरद महतोले गर्नेछन्।चलचित्र आगामी भदौ २७ गते नेपालसहित विश्वभर नेपाली र हिन्दी भाषामा एकसाथ रिलिज गरिनेछ।
Discussion about this post