विशेष अनलाइन । प्रदर्शनरत नेपाली चलचित्र ‘लाज सरणम’को टिम अहिले पूर्वी नेपालका विभिन्न हल भ्रमणमा छ । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आएको चलचित्रले पूर्वमा उत्साहजनक व्यापार गरिरहेको छ । शुक्रवारबाट पूर्व प्रचार प्रसारमा आएको टिमले विराटनगरबाट यात्रा सुरु गरेको थियो ।
विराटनगरमा पत्रकार भेटघाटबाट सुरु भएको यात्रा इटहरीको इलाइट सिनेमा, बिर्तामोडको पाथीभरा हल तथा क्यूएफएक्स हुँदै दमकको डिमाक्स सिनेमा हलमा पुगेका थिए। पुनः इटहरी फर्किएर ई लाइट सिनेमा पुगेको निर्माण युनिट हलमा भरिभराउ दर्शक देख्दा उत्साहित देखिए ।
पर्दामा हेर्दै गरेका कलाकारलाई प्रत्यक्ष भेट्न पाउँदा दर्शकमा खुसीको सीमा थिएन । पुनः दर्शक साक्षात्कारलाई अघि बढाउँदै फिल्म युनिट धरानको फ्रेन्ड्स सिनेमा पुगेको थियो ।
चलचित्र हेर्न आएका दर्शकहरूसँग संवाद गर्दै टिमले फिल्मबारे उनीहरूको प्रतिक्रिया लिएको थियो। हलमा उपस्थित दर्शकहरूले फिल्म मन परेको प्रतिक्रिया दिँदै कलाकारहरूको अभिनयको प्रशंसा गरेका थिए।
आइतबार मोरङको सुन्दरहरैचामा रहेको सुकुना बहुमुखी क्याम्पस, इटहरी २० मा रहेको पुर्वञ्चल बोर्डिङ स्कुल तथा धरानको महेन्द्र बहुमुखी क्याम्पस लगायतका स्थानमा चलचित्र प्रचारप्रसारका लागि जाने तय भएको बताइएको छ ।
पूर्व हल भ्रमण टोलीमा निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ सहित फिल्मका प्रमुख कलाकार सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोज’, बबिन राई ‘गल्फने’, लगायत उपस्थित छन् । । उनीहरूले दर्शकसँग फोटो खिच्ने, फिल्मबारे छलफल गर्ने र समर्थनका लागि धन्यवाद दिने कार्यक्रम पनि राख्ने गरेका छन् । चलचित्र ‘लाज सरणम’ हाल देश तथा विदेशमा प्रदर्शनरत छ।
Discussion about this post