विशेष अनलाइन । चलचित्र ‘कल्ली’को छायांकन आइतबार देखि सुरु भएको छ। बौद्धबाट सुरु गरिएको चलचित्रको छायांकन केही दिनसम्म काठमाडौंमा गरि बाँकी जुम्लामा गरिने भएको छ । ३५ दिन लामो छायांकन सेड्यूल लिएर निर्देशक लक्ष्मण सुनारले छायांकन थालेका हुन् । पहिलो दिन कलाकार उत्तम प्रधान, नाजिर हुसेन र वर्षा राउतका भागको दृश्य खिचिएको छ ।
चलचित्रमा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपालीको अभिनय हुनेछ । महेश दवाडीको लेखन रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ ।
निसाल पौडेलले यो चलचित्रको छायांकन गरिरहेका छन् । चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । १३ वर्षपछि चलचित्र क्षेत्रमा कमब्याक गर्न लागेका अभिनेता उत्तम प्रधान उत्साहित देखिए । उनले भने- ‘यो चलचित्रको कथावस्तु मलाई निकै मनपर्यो । मैले यसअघि गरेका चलचित्रको भन्दा भिन्न भूमिका रहेकाले काम गर्न लागेको हुँ । मलाई यो बिचमा थुप्रै फिल्मबाट अफर पनि आएको हो । तर, आफ्नो भूमिका नै चित्त नवुझेका कारण मैले चलचित्रमा काम गरिनँ ।’
सेटमा भेटिएका नाजिर र वर्षाले आफूहरु श्रीमान श्रीमतीको भूमिकामा देखिन लागेको बताए । प्रदर्शन मिति तय गरिएको छैन ।
Discussion about this post