विशेष अनलाइन । स्कटल्यान्डको एडम्बरामा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’आयोजना हुने भएको छ । १० फेब्रुअरीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै २०२५ को अगस्तमा आयोजना गरिने महोत्सवको ब्यानर सार्वजनिक गरियो ।
नेपाल स्कटल्यान्ड एसोसिएसन (NSA) का अध्यक्ष विजय डङ्गोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रङ्गकर्मी तथा कलाकार सुवास थापा, निर्माता सागर सुवेदी, नेपाल चलचित्र निर्देशक समाजका महासचिव तथा महोत्सवका निर्देशक अरुण कुमार प्रधानले संयुक्त रूपमा कार्यक्रमको ब्यानर सार्वजनिक गर्दै औपचारिक रूपमा महोत्सवको घोषणा गरेका हुन् ।
महोत्सव स्कटल्यान्ड तर्फको आयोजक नेपाल स्कटल्यान्ड एसोसिएसन (NSA) रहने छ । नेपाल तर्फको आयोजक नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेश र फिल्म कल्चर सोसाइटी अफ नेपाल रहने छ । नेपाल चलचित्र निर्देशक समाज कार्यक्रमको सहयोगी संस्थाका रूपमा रहने छ भने कार्यक्रमको सहजीकरण आदिवासी जनजाति चलचित्र महासंघ, कोशी प्रदेशले गर्ने छ ।
कार्यक्रममा नेपाली खाना, नेपाली पहिरन, नेपाली संस्कृतिसँगै नेपाली चलचित्र प्रदर्शन गरिने छ । विभिन्न नेपाली चलचित्रकर्मीहरूलाई सम्मान गरिनुका साथै अन्तरक्रिया कार्यक्रम, सम्मान कार्यक्रम, अवार्ड वितरण सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिने नेपाल तर्फको आयोजक संस्था नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष समेत रहेका महोत्सवका निर्देशक अरुण कुमार प्रधानले जानकारी दिए ।
नेपाल स्कटल्यान्ड एसोसिएसन (NSA) का अध्यक्ष विजय डङ्गोलले स्कटल्यान्डको एडम्बरामा पहिलो पटक यस प्रकारको नेपाली कार्यक्रम हुन लागेको बताउँदै कार्यक्रमलाई ऐतिहासिक बनाउन तयारी सुरु भइसकेको जानकारी दिए । चलचित्र सहभागिताको लागि आवेदनको आव्हान,अन्य गतिविधि प्रारम्भ हुनको साथै अवार्डका विधाहरू सहित अन्य जानकारी चाडै गराइने महोत्सव निर्देशक प्रधानले जानकारी दिए ।
Beta feature
Discussion about this post