विशेष अनलाइन । चलचित्र ‘ऊनको स्वीटर’मा समावेश ‘मखमली’ गीतको सानो अंश सार्वजनिक भएको केही दिन पछि गीतको पूरा अंश बिहीबार सार्वजनिक गरिएको छ । सार्वजनिक गीत ‘कौडा, चुट्का’ लयमा आधारित छ । सानो अंश सार्वजनिक हुदा नै दर्शकले गीतलाई निकै रुचाएका छन् । गीतले चलचित्रमा मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबिचको फरक जातीय प्रेम भाव प्रस्तुत गरेको छ ।
सुजन चापागाईँ र सुनिता थेगिमको स्वर रहेको गीतको संगीत पनि गायक चापागाईँले नै गरेका हुन्। गीतमा हर्क साउदको शब्द रचना छ । दीप गुरुङको नृत्य निर्देशन रहेको गीतको भिडियोमा अभिनेता विल्सनविक्रम राई समेत प्रस्तुत भएका छन् । मिरुनाले उनलाई तानेर नाच्न ल्याए विपिन निराश देखिन्छन् । यस दृश्यले चलचित्रमा विल्सनविक्रम र विपिनबिच प्रेम प्राप्तिको द्वन्द हुनसक्ने देखिन्छ ।
वैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन, मिरुना र विल्सनका अलावा सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, शारदा देवी सिलवाल लगायतको अभिनय छ ।
चलचित्रको एसोसिएट निर्माता केन्द्र मोसन पिक्चर्स हो । साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने चलचित्रका सह९निर्मातामा हुन् । सागर बुढाथोकी र मिलन खत्री चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा चिन्तन राजभण्डारीको छायाङ्कन तथा कृष्ण भण्डारीको सम्पादन छ ।
Discussion about this post