बिशेष अनलाइन । एक दशकपछि चलचित्रको छायांकन सेटमा अभिनेता राजबल्लभ कोइराला फर्किएका छन्। आइतबार बिहान अमेरिकाबाट नेपाल आइपुगेका कोइरालाले सोमबारबाट चलचित्र ‘एक्टर’ को छायांकन सुरू गरेका हुन्।
चलचित्रको पहिलो चरणको छायांकन पोखरामा १० दिन सम्म गरिएको थियो । काठमाडौंको बुढानिलकण्ठमा रहेको एक होटलबाट चलचित्रको दोस्रो चरणको छायांकन सुरू भएको निर्माता थमन भण्डारीले जानकारी दिए।
चलचित्रका प्रायः सबै शीर्ष कलाकारहरूको दृश्य छायाँकन भइरहेको छ। राजबल्लभसहित प्रदीप खड्का, दिव्य देव, सुशील सिटौला, आना शर्मा, दीव्या रायमाझी, प्रदीपकुमार चौधरीलगायत कलाकारहरूको छायांकन भइरहेको हो।
राजबल्लभले चलचित्रको लगातार १५ दिनसम्म छायांकन गर्नेछन्।‘एक्टर’ चलचित्र मार्फत उनी १० वर्षपछि कमब्याक गर्न लागेका हुन्। उनको पछिल्लो चलचित्र ‘६ एकान ६’ हो।
काठमाडौंका फरक–फरक लोकेसनमा १ महिनासम्म लगातार छायांकन गरिने जनाइएको छ। अभिनेता दीलिप रायमाझीकी छोरी दीव्याले यही फिल्म मार्फत डेब्यु गर्दैछिन्।
आकाश बरालको लेखनमा र राजन भुसालको निर्देशनमा थमन कुमार भण्डारीको लगानी रहने ‘एक्टर’ चलचित्रको प्रदर्शन मिति तिहारलाई तोकिएको छ । अदृत फिल्मस् र मोती फिल्मस्को व्यानरमा निर्माण भइरहेको यो चलचित्रमा एनिस भुसाल सह–निर्माताको रूपमा छन् ।
Discussion about this post