मनोज दाहाल । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले पहिलो पटक ‘कोशी चलचित्र महोत्सव ‘२०८१’आयोजना सम्पन्न गर्यो । चलचित्रकर्मीहरूको सहयोगमा स्वयम आयोजक भएर गरेको चलचित्र महोत्सव सानातिना कमीकमजोरीहरूका बाबजुद भव्यताका साथ सम्पन्न भयो । ज्येष्ठ ६ गतेबाट सुरु भएको महोत्सव विविध कार्यक्रम गर्दै ज्येष्ठ ११ गते सम्पन्न भएको थियो ।
झापाको बिर्तामोडमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेर सुरु भएको कार्यक्रम विराटनगरमा आन्तरिक तथा कानुन मन्त्री लीलावल्लभ अधिकारीले सम्बोधन गरेपछि सम्पन्न भयो । झापामा भएका कार्यक्रमहरूको संयोजन केवल तामाङ नेतृत्वको चलचित्रकर्मी संघले गरेको थियो भने बाँकी स्थानमा भएका विविध कार्यक्रमहरूको संयोजन अरुण कुमार प्रधान नेतृत्वको चलचित्रकर्मी महासंघ केशी प्रदेशले गरेको थियो । मन्त्रालयले कार्यक्रमको संयोजक जिम्मेवारी पनि प्रधानलाई दिएको थियो ।
के के भए कार्यक्रम ?
कार्यक्रम झापाको बिर्तामोडबाट सुरु भयो । मुख्यमन्त्री हिक्मत कार्की,आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी , बिभिन्न मन्त्रालयका सचिव,शाखा प्रमुख तथा कोशी प्रदेशका चलचित्रकर्मीहरूको उपस्थितिमा कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रमको पहिलो दिन नै बिर्तामोडमा सांस्कृतिक कार्यक्रम सहित कोशी प्रदेशमा बनेका तथा कोशी प्रदेशका चलचित्रकर्मीहरूले निर्माण गरेका विभिन्न चलचित्रहरू निःशुल्क प्रदर्शन गरिएको थियो । दोस्रो दिन देखि भने बिर्तामोड तथा विराटनगर दुवै स्थानमा विविध कार्यक्रमहरू आयोजना भए ।
महोत्सवको दोस्रो दिन विराटनगरको आरोहण गुरुकुलमा चलचित्र प्रदर्शनीसँगै सिने पर्यटन क्षेत्र सम्बन्धी विविध कार्यक्रम गरियो । चलचित्र छाँयाकन देखी निर्माणका लागी के कस्ता प्रविधिहरू प्रयोग गरिन्छ भन्ने जिज्ञासा मेटाउन सूचना केन्द्रको स्थापना गरियो । उक्त केन्द्रमा कोशी भिजन फिल्म इटहरीले चलचित्र निर्माण गर्दा प्रयोग गरिने सामाग्रीहरू प्रदर्शनीमा राखिएको छ ।
तेस्रो र चौथो दिनमा पनि चलचित्र सम्बन्धी अन्तरक्रिया,कार्यशालाका साथै चलचित्र प्रदर्शन गरियो । पूर्वका झापा सहित विराटनगर,इटहरी, झुम्का लगायतका स्थानहरूमा विभिन्न चलचित्र निःशुल्क प्रदर्शन गरिएको थियो । पाँचौँ दिनमा विराटनगरमा अभिनय कार्यशाला गरिएको थियो जसको प्रशिक्षण कलाकार भोलाराज सापकोटाले गरेका थिए । कार्यक्रम समापन पूर्व नेपालकै पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ तथा निर्देशक संगीता श्रेष्ठको उपस्थितिमा नेपाली चलचित्रमा महिला विषयक अन्तरक्रिया गरिएको थियो । यस्तै निर्देशक नवीन सुब्बाको उपस्थितिमा विश्व बजारमा नेपाली सिनेमा विषयक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
अन्तिम दिन आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी , राज्य मन्त्री सिर्जना राई, प्रदेश सचिव लक्ष्मीप्रसाद पौडेल लगायत चलचित्रका निर्देशक तथा कलाकारहरूको उपस्थितिमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै महोत्सवको समापन गरिएको थियो । महोत्सव समापन कार्यक्रममा राष्ट्रिय स्तरमा चलचित्र क्षेत्रमा योगदान पुर्याउने कोशी प्रदेशका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । जस अन्तरगत निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफ टाइम एचिभमेन्ट दीर्घ साधना सम्मानबाट सम्मान गरिएको थियो । यस्तै पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राई,निर्माता छविराज ओझा,निर्देशक नवीन सुब्बा,सुचित्रा श्रेष्ठ कलाकार मोहन निरौला, अभिनेता शिव श्रेष्ठ, रङ्ग पत्रकार प्रकाश सुवेदी लगायतलाई विशेष योगदान सम्मानबाट सम्मानित गरिएको थियो ।
त्यसै गरी प्रादेशिक सम्मानबाट सिने पत्रकार प्रेम देवान, गायक सुमित खड्का, श्रीकृष्ण लुइँटेल, वीरेन्द्र झा, फिल्मी क्षेत्रमा आबद्ध केशव रायमाझी, कुबेर शर्मा, चिरञ्जीवी बस्नेत, सबुरलाल चौधरी, लाखमान योन्जन, विपिन प्रसाईँ, सुवास मेचेलाई सम्मान गरिएको थियो । सम्मानित हुने सबैलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारीले सम्मान गरेका थिए । त्यसै गरी कार्यक्रममा महोत्सवमा प्रदर्शन भएका सबै चलचित्रहरूलाई चलचित्र अवार्ड समेत प्रदान गरिएको थियो ।
महोत्सवले देखाएका सबल पक्ष
नेपालको राजनीतिक इतिहासलाई हेर्ने हो भने प्रदेश मन्त्रालयले आफैँ आयोजक भएर गरेको चलचित्र सम्बन्धी कार्यक्रमको इतिहास कोशी प्रदेशले बनाएको छ । चलचित्रकर्मी तथा चलचित्र क्षेत्रका लागि यस कार्यक्रमले उत्साह थपिदिएको छ । कोशी प्रदेशले यस प्रकारको कार्यक्रम आयोजना गरिसकेपछि अन्य प्रदेश तथा केन्द्रीय राजनीतिमा पनि चलचित्रकर्मीहरूका लागि सरकार घचघच्याउने गतिलो मध्यम स्थापित भएको छ । सरकारले चाहने हो भने यस प्रकारका चलचित्र महोत्सव आयोजनामा कुनै वाधा नभएको कुरा पनि कोशी प्रदेश स्तरीय चलचित्र महोत्सवले देखाएको छ ।
कोशी प्रदेशमा त्यसै पनि लामो समय सम्म स्थायी सरकार गठन हुन सकेको छैन । प्रदेशको निर्वाचन पश्चात् नै ५ पटक मुख्यमन्त्री परिवर्तन भइसकेको छ । यसका बाबजुद पनि यहाँका चलचित्रकर्मीहरूको निरन्तर सक्रियताका कारण चलचित्र महोत्सव सम्पन्न भएको छ । यसका साथै केही समय अघि मात्र पुन मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री हिक्मत कार्की चलचित्र प्रेमी मुख्यमन्त्री मानिन्छन् । उनले चलचित्र नगरीलाई नजिकबाट नियाल्ने गरेका छन् । आफूलाई चासो लागेका चलचित्रहरू हलमा नै गएर हेर्ने गरेका छन् ।
महोत्सव आयोजना हुनु र सफलता पूर्वक सम्पन्न हुनुमा मुख्यमन्त्री कार्कीको महत्त्वपूर्ण योगदान छ भन्दा फरक पर्दैन । चलचित्र महोत्सवका लागि चलचित्रकर्मीहरू अनुरोध गर्न जाँदा उनै कार्की मुख्य मन्त्री थिए । उनले महोत्सव आयोजनका लागि आफू सकारात्मक रहेको आश्वासन चलचित्रकर्मीहरूलाई दिएका थिए । पछि लामो समय उनी मुख्यमन्त्री रहिरहन नसके पनि उनीपछि आएका मुख्यमन्त्रीहरू उद्धव थापा तथा केदार कार्की पनि चलचित्र महोत्सवका लागि उदार देखिए । अन्ततः चलचित्र महोत्सव आयोजना गर्ने समयमा पुन हिक्मत कार्की नै मुख्यमन्त्री भएर आए । कार्कीकै कार्यकालमा पहिलोपटक कोशी प्रदेश स्तरीय चलचित्र महोत्सव २०८१ सम्पन्न भयो ।
मुख्यमन्त्री कार्कीले चलचित्र महोत्सवलाई निरन्तरता दिइने बताएका छन् । यो पहिलो पक्कै हो तर अन्तिम हैन । अर्को पटक परिष्कृत सहित यो भन्दा भव्य चलचित्र महोत्सव हुन्छ र त्यसको आयोजना पनि कोशी प्रदेशले नै गर्छ मुख्यमन्त्री कार्कीले भनेका छन् । चलचित्र क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट गर्न सक्ने सबै कार्यका लागि आफू तयार रहेको र केन्द्रसम्म पनि पहल गर्नपछि नपर्ने मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा चलचित्र विकास बोर्ड स्थापना गर्ने कुरामा समेत चासो देखाएका छन् । उनले चलचित्रकर्मीहरू बिचमा फाटो उत्पन्न हुन नहुने उल्लेख गर्दै एक भएर आए,एउटै मुद्दा बनाएर आए चलचित्र क्षेत्रका लागि जुनसुकै कार्य गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गरेका छन् ।
अर्को महत्त्वपूर्ण कुरा के छ भने चलचित्र क्षेत्रका लागि कोशी प्रदेश उदाहरणीय बनेको छ । कोशी प्रदेशमा चलचित्र महोत्सव सम्पन्न भएपछि अन्य प्रदेशका चलचित्रकर्मीहरू पनि उत्साहित देखिएका छन् । हामीलाई अब सरकारलाई घचघच्याउन सजिलो भयो । कोशी प्रदेश सरकारले आफ्नै आयोजनामा भव्य कार्यक्रम आयोजना गर्नु सकारात्मक कुरा हो, बागमती प्रदेशका एक कलाकारले भने । अब हामी पनि कोशी प्रदेशले गरेको कार्यक्रमलाई उदाहरण बनाएर मन्त्रालय जाने तयारीमा छौँ उनले भने ।
कोशी प्रदेशमा यस प्रकारका कार्यक्रम आयोजना हुनुले अन्य प्रदेशहरूमा मात्र नभएर केन्द्रमा समेत चासो बढेको छ । राष्ट्रिय स्तरका करिब दर्जन कलाकारलाई उपस्थित गराई भव्य कार्यक्रम सम्पन्न गर्नु यसको मुख्य कारण मान्न सकिन्छ । महोत्सव सफल बनाउन आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगै चलचित्रकर्मी महासंघ कोशी प्रदेशको भूमिका महत्त्वपूर्ण देखिन्छ । महासंघ अध्यक्ष अरुण कुमार प्रधान, महासचिव दिनेश कोइराला लगायतको सक्रियताले चलचित्र महोत्सवलाई सम्पन्न गर्न थप सहज भएको मन्त्रालयका सञ्चार शाखा प्रमुख नारायण भण्डारीले बताए । मन्त्रालयले महोत्सव आयोजना गर्यो तर, सहजिकरणको महत्त्वपूर्ण कामलाई चलचित्रकर्मी महासंघका पदाधिकारीहरूले गर्नुभयो । जसले गर्दा मन्त्रालयलाई सहज भयो, भण्डारीले भने ।
यता कार्यक्रमका संयोजक समेत रहेका चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले आफूले पाएको जिम्मेवारीलाई सफलता पूर्वक सम्पन्न गरेको बताए । मन्त्रालय आफैँले यस प्रकारको कार्यक्रम आयोजना गर्नु हामी चलचित्रकर्मीहरूका लागि अत्यन्तै खुसीको कुरा हो । मन्त्रालयले कार्यक्रम सम्पन्न गर्न जुन जिम्मेवारी मलाई सुम्पिएको थियो मैले सकेसम्म कमजोरी हुन नदिने गरी सम्पन्न गर्ने प्रयास गरेँ अध्यक्ष प्रधानले भने ।
महोत्सवका सुधारोन्मुख पक्ष
हुन त हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ नै । कसैलाई सकारात्मक लागेको पक्ष कसैलाई नकारात्मक नलाग्ला भन्न सकिन्न । तर, चलचित्र महोत्सवमा देखिएका सबै पक्षहरूलाई केलाएर हेर्दा कोशी प्रदेश स्तरिय चलचित्र महोत्सवमा ४४ वटा चलचित्र प्रदर्शन गरिएको थियो ।
दर्ता भएका सबै चलचित्र साथै दर्शकका माग अनुसार केही चलचित्र थप गरी प्रदर्शन गरिएको थियो । कोशी प्रदेशमा निर्माण भएको चलचित्रलाई मात्र आधार मान्नुभन्दा निश्चित मापदण्ड तोकेर उचित प्रोत्साहन पुरस्कार सहित चलचित्र प्रदर्शन गर्न आवश्यक थियो, महोत्सवमा सहभागी धेरैजसो चलचित्रकर्मी हरूको आशय यही थियो ।
चलचित्र महोत्सवका क्रममा केही छिटपुट असन्तुष्टिका आवाजहरू पनि नआएका हैनन् । आउने कार्यक्रमहरूमा भने त्यस प्रकारका असन्तुष्टि आवाजहरूलाई पनि सम्बोधन गर्दै कार्यक्रम गर्न आवश्यक देखिएको छ ।
Discussion about this post