विशेष अनलाइन । याकथुङ मुन्धुममा आधारित ऐतिहासिक चलचित्र “हाँङनान्द” को विशेष सो गरिने भएको छ । असार २८ गते बिहीबार धरान स्थित फ्रेन्ड्स सिनेमामा विशेष सो गरिने तय भएको चलचित्रका निर्देशक विजय संयक सुब्बाले जानकारी दिए । चलचित्र “हाँङनान्द”को विशेष सो धरानसँगै दमक, इटहरी, केराबारी,धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायतका विभिन्न स्थानहरूमा गरिने निर्देशक सुब्बाले जानकारी दिए ।
नेपाल सो पछि अगामी सेप्टेम्बर १० तारिखमा हेनरी जि लेओङ यु मा तेइ कम्युनिटी सेन्टर हंङकंङमा पनि विशेष सो हुने निर्माण टिमले जानकारी दिएको छ । छैटौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव, (NIFF) मा ५०० भन्दा बढी देशहरुबाट प्रतिष्पर्धा भई ३५ देशका उत्कृष्ट चलचित्र मध्ये “हााँङनान्द” नेपरली राष्ट्रिय उत्कृष्ट फिचर्ड चलचित्र अवार्ड प्रतिष्पर्धाका लागि मनोनयन हुन सफल भएको छ । “हाँङनान्द” को ट्रेलर समेत सार्वजनिक भइसकेको छ ।
”याक्थुङ (लिम्बु) जातिको विभिन्न मौलिक सांस्कृतिक पहिचान मध्ये के-लाङ् अर्थात च्याब्रुङ नाच पनि मुख्य हो र सोही च्याब्रुङको ऐतिहासिक उत्पत्तिको विषयमा रहेर “हाँङनान्द”को निर्माण गरिएकाले “हाँङनान्द” चलचित्र मात्र नभएर लिम्बु जातिका मुन्धुमी पहिचान हो” चलचित्रका निर्देशक शुब्बाले भने ।
“हाँङनान्द”चलचित्र निर्माणको मुख्य उद्देश्य नै लिम्बु संस्कृति उत्थान र प्रवर्द्धन गरेर आउने पुस्तालाई जानकार बनाउँदै लैजाने भएको उल्लेख गर्दे निर्देशक सुब्बाले यसको पहल कदमी लिम्बु संस्कृतिका धरोहर,बुद्धिजीवी तथा जातीय संघ संस्थाहरूको नेतृत्व कर्ताहरुले नेतृत्वदायी भूमिका गर्नुपर्ने भए पनि सबै संघ संस्था कुनै न कुनै दलगत स्वार्थ बोकेर दिग्भ्रमित भएको बताए ।
हेमन्तकृष्ण पंधाक लिम्बुको लेखन रहेको चलचित्रको पटकथा पनि निर्देशन सुब्बाले तयार गरेका हुन् । लिम्बु मुन्धुमी कथामा आधारित नेपाली चलचित्र “हाँङनान्द” लाई श्रीमती धन कुमारी लिम्बुले निर्माण गरेकी हुन् । लिम्बु मुन्धुमी संस्कृतिलाई देश तथा विदेशमा चिनाउने उद्देश्य सहित चलचित्र निर्माण गरिएको निर्देशक सुब्बाको दाबी छ ।
चलचित्रमा हेमन्तकृष्ण पंधाक, सिता तुम्बाहाम्फे, चन्द्रघोज लिम्बु, युमारानी लिम्बु, बिनोद पोमो, नबिन मेन्याङबो, उदय कुरुङबाङ छन भने हिमाल दाहाल, सङ्गीता लावती लगायतको अभिनय रहेको छ । दीपक बज्राचार्यको छायाङ्कन रहेको चलचित्रको सङ्गीत झुमा वनेम लिम्बुले गरेकी छन् । करिब ६५ लाखको बजेटमा निर्माण गरिएको चलचित्र मोरङको केराबारी , धरान ,दमक , पाँचथर, र ताप्लेजुङमा छायाङ्कन गरिएको छ । चलचित्रको सम्पादन राजेन्द्र खड्काले गरेका हुन् ।
Discussion about this post