विशेष अनलाइन। एडिनबरा, स्कटल्याण्ड – आउँदो जुलाई १९ तारिखका दिन स्कटल्याण्डको राजधानी एडिनबरामा आयोजना हुने ‘आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ मा प्रदर्शनका लागि ४१ नेपाली चलचित्र छनोट भएका छन्।
नेपाल स्कटल्यान्ड एसोसिएसनको आयोजनामा हुने महोत्सवका लागि प्राप्त ६० मध्येबाट १५ छोटा चलचित्र, ५ वृत्तचित्र, १३ आदिवासी जनजाति चलचित्र र ८ वटा जनजातिय कथामा आधारित मूलधारका चलचित्र छनोट गरिएको हो।
छोटो चलचित्रतर्फ ‘बेङठा’, ‘डेभिनेसन’, ‘अदेख’, ‘जंगलमा’, ‘खिल’, ‘कलर अफ टी’, ‘द ब्लाक पिग’, ‘लौलसा परहेके’, ‘द ब्लु स्काई’, ‘फेके’, ‘रिभा’, ‘सन्ते’, ‘माता’, ‘टरक्युसी’ र ‘एप्रोन’ रहेका छन्।
वृत्तचित्रतर्फ ‘गा घर’, ‘वडहाङने/पापनी’, ‘गल्र्स रीराइटिङ डेस्टिनी’, ‘द एभरेस्ट मम’ र ‘डिभाइन डाइलीमा’ रहेका छन्।
त्यसैगरी आदिवासी जनजातिको कथामा आधारित चलचित्रहरूमा ‘कर्तव्य आर संघर्ष’, ‘गले वाना’, ‘अस्तु’, ‘लोजिमा’, ‘हाङनन्द’, ‘मुखिया’, ‘नाम्लो’, ‘सेमिफुङ’, ‘सुगुप’, ‘चे’, ‘युप्पारुङ’, ‘जितिया’, ‘लाखे आजु’ र ‘नाक्छोङ’ छन्।
मूलधारको नेपाली चलचित्र क्षेत्रबाट आदिवासी जनजातिका कथाहरू समेटेर निर्माण गरिएका ‘गाउ आएको बाटो’, ‘अन्जिला’, ‘कर्साङ’, ‘घरज्वाइँ’, ‘खुश्मा’, ‘गोर्खा वारियर’ र ‘टुल्की’ चलचित्र पनि महोत्सवमा समावेश हुने भएका छन्। यिनलाई विशेष चलचित्र सम्मान अवार्ड प्रदान गरिनेछ।
फेस्टिभल निर्देशक अरुण कुमार प्रधानका अनुसार, जुलाई १९ मा ‘अन्जिला’, ‘लाखे आजु’, ‘कर्साङ’, ‘मुखिया’ लगायत केही छोटा चलचित्रहरू प्रदर्शन गरिनेछन्। त्यस दिन आदिवासी परिकार, पहिरन प्रदर्शनी, अन्तर्क्रिया, सांस्कृतिक कार्यक्रम, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम पनि हुनेछ।
चलचित्रहरूलाई बेस्ट एक्टर, एक्ट्रेस, निर्देशक, स्क्रिप्ट, सिनेमाटोग्राफर, एडिटर, डेब्यु निर्देशक तथा डेब्यु कलाकार विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
नेपाल स्कटल्यान्ड एसोसिएसनका अध्यक्ष विजय डंगोलले स्कटल्यान्डतर्फको सबै तयारी पूरा भएको जानकारी दिए। कार्यक्रमको प्रमुख अतिथिका रूपमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे सहभागी हुनेछन्।
नेपालतर्फबाट संयोजकको भूमिका नेपाल चलचित्र निर्देशक समाज र नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशले निर्वाह गरिरहेको समाजका अध्यक्ष जनकदीप पराजुलीले जानकारी दिए।
Discussion about this post