विशेष अनलाइन । गत कात्तिक ३० गतेबाट नेपालमा प्रदर्शन भएको चलचित्र ‘ह्रस्व दीर्घ’ (टिभी) राइट्स भारतीय कम्पनी जी–नेटवर्कले किनेको छ । बुधबार चलचित्रकी निर्मात्री तथा अभिनेत्री निता ढुंगाना र अभिनेता हरिहर अधिकारीसँग जी–नेटवर्कका अधिकारीले दुईवटा राइट्स खरिद सम्झौता भएको छ ।
जी–नेटवर्कले चलचित्रको राइट्स किनेको निता र हरिहरले फेसबुकमार्फत जानकारी दिएका छन् । चलचित्रको जापान प्रदर्शन सकाएर सिधै भारत पुगेका हरिहर र निताले मुम्बईस्थित जी–नेटवर्कको मुख्यालय नै पुगेर चलचित्रको सम्झौता गरेका छन् ।
जी–नेटवर्कले चलचित्रको दुईवटा राइट्स कति मूल्यमा खरिद गरेको हो भन्ने खुलाइएको छैन । जी–नेटवर्क भारतको ठुलो मिडिया समूह हो । विश्वभर ४५ बढी टिभी च्यानल सञ्चालन गरिरहेको यो कम्पनीको ओटीटी प्लाटफर्म भने ‘जी फाइभ’ हो ।
जी-नेटवर्क अन्तर्गतका टेलिभिजन र ‘जी फाइभ’ ओटीटी प्लाटफर्ममा रिलिज हुने ‘ह्रस्व दीर्घ’ पहिलो नेपाली चलचित्र हुनेछ । यो नेपाली चलचित्रका लागि ठूलो उपलब्धि हो । यसले नेपाली चलचित्रलाई भारतका टेलिभिजन र ओटीटीमा रिलिजका लागि बाटो खुला गरेको छ ।
यो कम्पनीले चलचित्रको राइट्स खरिद गर्नुमा दक्षिण भारत (साउथ)का चर्चित कलाकारहरुको अभिनय मुख्य कारण मानिएको छ । यसमा ब्रह्मानन्दम, अली, सुनिल बर्मा, प्रदीप रावत र कबीर दुहन सिंहको अभिनय छ । चन्द्र पन्तको निर्देशन रहेको चलचित्रमा नेपाली कलाकारहरु नीता र हरिहरसहित विपना थापा, रेखा थापा, सञ्चिता लुइँटेल, किरण केसी लगायतले अभिनय गरेका छन् ।
Discussion about this post