विशेष अनलाइन । मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा चलचित्रको नेपाली संस्करणको दोस्रो ट्रेलर सार्वजनिक गरिएको हो ।
विश्वप्रसिद्ध बर्लिन चलचित्र फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो चलचित्र यसै महिना स्वीट्जरल्याण्डको प्रसिद्ध लोकार्नो चलचित्र फेस्टिभलमा प्रदर्शन गरिएको थियो ।ड्रामा, एड्भेन्चर र म्याजिक रियालिजम जनरा बताइएको यो चलचित्र ‘कालोपोथी’ फेम्ड निर्देशक भामको दोस्रो निर्देशकीय फिचर हो ।
नेपाली र तिब्बती भाषामा रिलिज हुने यो चलचित्रलाई नेपालमा अङ्ग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिनेछ । सहरी क्षेत्रमा अङ्ग्रेजी सबटाइटलमा देखाइने तयारी एप्पलको रहेको छ ।
झन्डै १४ करोड रुपैयाँ बजेट रहेकोयो चलचित्रलाई अहिलेसम्मकै महँगो नेपाली चलचित्र बताइएको छ । यो चलचित्रले नेपालको चलचित्र विकास बोर्डसहित विश्वका १७ अन्तर्राष्ट्रिय संस्थाबाट फण्ड जितेको छ । थिन्ले ल्हामो र सोनम तोप्देन मुख्य भूमिका रहेको चलचित्र नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथामा बनेको छ ।
चलचित्रको मल्टिप्लेक्स पार्टनरमा क्यूएफएक्स छ । चलचित्र निर्माणमा फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान र अमेरिकी कम्पनीले पनि सहकार्य गरेका छन् ।भदौ २८ गते (सेप्टेम्बर १३)बाट नेपालमा रिलिज हुन लागेको चलचित्र एप्पल इन्टरटेनमेन्टले बनाएको हो ।
Discussion about this post